कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गरेका हुन् । देउवाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माला लगाएर काँग्रेस महाधिवेशनको उद्घाटन गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी नेतृ दूर्गा पौडेल महाधिवेशनस्थल पुगेका छन् ।
उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यतालिका छ ।
उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।
सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।
महाधिवेशनस्थलमा पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ ।
यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् ।