नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक भक्तपुरमा सुरु भएको छ ।
एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा सुरु भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए ।
एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन् ।
बैठक भोलिसम्म बस्ने कार्यतालिका रहेको छ ।