नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दावी गरेका छन्।
पार्टीको सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै प्रचण्डले माओवादी राष्ट्र र जनताका लागि काम गर्ने पार्टी भएको भन्दै माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको टिप्पणी गरे।
उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बिचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल हुने बताए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलनको शुभारम्भ गरेको छ ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । माओवादीले प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको छ ।