नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको छ ।हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार छन् भने संस्थापन इतर समूह विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिको उम्मेदवार बनेका छन् ।
केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५ सय ४८ जना उम्मेदवार छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने छ ।
भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाइएको छ । मतदान मतपत्रमार्फत गर्नुपर्नेछ । शुक्रवार भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको उद्घाटन भएको थियो ।