नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि सभापति नजित्ने दाबी गरेका छन् ।
साथै उनले दोस्रो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाविरूद्ध मोर्चाबन्दी गर्ने बताए । उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरालाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताए ।
आइतबार भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सक्दैन । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ । त्यसबेला देउवाइतर रहेका हामी सबै एक हुन्छौं । देउवाविरुद्ध मोर्चाबन्दी गर्छौ ।’
उनले दोस्रो चरणमा आफूसहित सभापतिका अन्य उम्मेदवारहरूले शेखर कोइरालालाई सघाउने दाबी गरे ।
उनले आफूहरु नेतृत्व परिवर्तनको पक्षमा रहेको बताए ।
आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा सभापति बनाउन आग्रह गरे पनि सभापति देउवाले नमानेको गुनासो गरे ।