नेपालमा थप २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ र दुई हजार ४१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २३४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।
यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५४ पुगेको छ ।
यसैगरी, देशभर हालसम्म पाँच हजार ८९० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
१९ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो
कोभ्याक्स सुविधाअन्तर्गत १९ लाख ६५ हजार आठसय डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले विहान १९ लाख ६५ हजार आठसय डोज खोप आएको जानकारी दिए ।
सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ ।