अवैध रुपमा ल्याएको सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल एयरलाइन्सको उडानमार्फत् दुवईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर यु ३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैधरुपमा ल्याएको ९ सय ५ ग्राम अर्धठोस सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा हुसेनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ लैजाने क्रममा मलद्वारबाट कालो रङको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा उक्त सुन फेला पारी पक्राउ गरिएको हो ।
साथै प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिमको संलग्नता रहेको खुल्न आएपछि उनलाईसमेत प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, जजिरा एयरको उडानमार्फत् दुवईबाट कुवेत हुँदै काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर जेड४८४३७३९ बाहक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छलि अवैध रुपमा ल्याएको ३ सय ४९ ग्राम सुन जस्तो देखिने पहेंलो धातुसहित प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको व्यागलाई विमानस्थलको आन्तरिक उडानतर्फको होल्ड व्यागेज एरियमा एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बरामद धातुसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।