भारतको महाराष्ट्रमा एक हत्याको घटनाले राज्यलाई हल्लाएको छ । औरंगाबाद जिल्लाको वैजापुर तहसीलको गोइगाउँमा एक गर्भवती महिलाको आमा र भाइले निर्ममतापूर्वक टाउको काटेर हत्या गरेका छन् ।
उक्त हत्याले उक्त क्षेत्र तरंगित भएको छ । आमाबुवा र परिवारको विरुद्धमा गएर यी युवतीले आफ्नो प्रेमीसँग भागेर विवाह गरेकी थिइन् । यसले गर्दा उनका परिवारका सदस्यहरु आक्रोशित भएका थिए ।
चकित पार्ने कुरा के छ भने हत्या हुँदा मृतक दुई महिना की गर्भवती थिइन्, जुन कुरा उनकी आमा र भाई दुवैलाई थाहा थियो । यो घटनापछि आमा र भाइले प्रहरी चौकी गएर आत्मसमर्पण गरेका थिए । यससँगै उनले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन् ।
युवतीको नाम कीर्ति उर्फ किशोरी मोटे हो । उनी र उनका श्रीमान् अविनाश थोरे दुवै गोइगाउँका बासिन्दा थिए । किशोरी मोटे र अविनाश दुवै एउटै कलेजमा पढ्थे । कलेज पढ्दा दुवै एकअर्काको प्रेममा परेका थिए । तर, किशोरकिा परिवारले यी दुवैबीचको सम्बन्धको विरोध गर्दै आएका थिए ।
सम्बन्धको विरोध गर्नुको मुख्य कारण दुई परिवारको सामाजिक हैसियत वा आर्थिक हैसियतमा फरक रहेको बीबीसी हिन्दीले जनाएको छ । जसका कारण युवतीका परिवारले दुवैको सम्बन्धको विरोध गरेका थिए । तर अविनाश र किशोरी आफ्नो निर्णयमा अडिग रहे, त्यसैले मोटे परिवारको विरोधको बाबजुद विवाह गर्ने निर्णय गरे ।
करिब ६ महिनाअघि दुवै जना घरबाट भागेका थिए । त्यसपछि दुवैले आलन्दीमा विवाह गरे । विवाहपछि अविनाश किशोरीलाई श्रीमती बनाएर गाउँ फर्के । त्यसयता किशोरी लाडगाउँस्थित श्रीमानको फार्म हाउसमा बस्दै आएकी थिइन् । यस अवधिका उनको परिवारसँग खासै सम्पर्क हुन सकेन ।
तर, घटनाको एक साताअघि मृतककी आमा शोभा मोटे उनलाई भेट्न गएकी थिइन् । छोरीलाई भेटेर चियापानी पिएर उनी हिँडिन् । प्रहरीका अनुसार डिसेम्बर ५ का दिन उनकी आमा शोभा र भाई संजय मोटे उनलाई भेट्न फार्म हाउस पुगेका थिए । त्यतिबेला उनी आफ्नो खेतमा काम गरिरहेकी थिइन् ।
आमा र भाई आएको देखेपछि उनी खुसी हुँदै घरतिर दौडिन् । ती युवती दुवैका लागि चिया बनाउन भान्सामा गइन् । त्यही क्रममा उनकी आमा र भाईले उनको टाउको काटेर हत्या गरिदिए ।
भाई संजयले धारिलो हतियारले बहिनीको घाँटी काटेर त्यहाँ उपस्थित मानिसहरुलाई देखाउन थाले । त्यसपछि काटिएको टाउको घरको कम्पाउण्डमा राखेर दुवै जना त्यहाँबाट निस्के । पछि दुवै जना आफैं घटनालाई लिएर प्रहरी चौकी पुगेका थिए ।