भारतको पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जित्ने तेस्री भारतीय युवती बनेकी छन् ।
पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी सिन्धू उत्कृष्ट ठहरिएकी हुन् ।
मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन् । इजरेलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको थियो ।
हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन् ।
मिस यूनिभर्स बनेपछि हरनाज सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिइन् ।
प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई ‘वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?’ भनेर सोधिएको थियो ।
उत्तर दिँदै हरनाज सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन् । उनले भनिन्, ‘बाहिर निस्किनुहोस्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो । म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु ।’
टप फाइभ राउन्डमा उनलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो । ‘धेरै मानिसलाई जलवायु परिवर्तन मिथ्या हो भन्ने लाग्छ । तपाईँ उनीहरूलाई सम्झाउन के गर्नुहुन्छ ?’
उत्तर दिँदै उनले प्रकृतिमा आएको सङ्कट देख्दा आफ्नो मन दुख्ने गरेको भन्दै अनुत्तरदायी व्यवहारका कारण त्यसो भएको बताइन् । यो समय कुरा कम र काम बढी गर्ने भएको आफूलाई लागेको बताउँदै उनले प्रकृतिले मात्र हामीलाई जोगाउन सक्ने वा नष्ट गर्न सक्ने धारणा राखिन् । उनले भनिन्, ‘रोकथाम र सुरक्षा गर्नु पछुताउनु वा मर्मत गर्नुभन्दा राम्रो हो ।’
यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका थिए । लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको थियो ।