नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा २२ सयभन्दा बढी मत खसेको छ ।
मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा हालसम्म २२ सयभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।
कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।
मतदान समय थप
मतदान प्रक्रिया राति ९ बजेसम्म कायम हुनेछ ।
निर्वाचन समितिका अनुसार आज बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका तय गरेको थियो । तर, निर्धारित सम्ममा मतदान प्रक्रिया नसकिएपछि समय थप गरिएको हो ।