नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति चयनका लागि मंगलबार दिउँसो ३ बजेपछि पुनः मतदान हुने भएको छ ।
पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा सोमबार तोकिएका ३ ठाउँमै दिउँसो साढे ३ बजेदेखि ७ः३० बजे सम्म निर्वाचन हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खस्यो भने ७६ मत बदर भयो ।पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरे । उनलाई बहुमत प्राप्त गर्न ८२ मत अपुग भयो । कोइरालाले भने १ हजार ७ सय २ प्राप्त गरे । त्यसैगरी सिंहले ३ सय ७१, निधिले २ सय ५० र गुरुङले २२ मत प्राप्त गरे ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।
सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुने काग्रेंस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।