सेयर बजारमा उच्च अंकको वृद्धिपछि सर्किट ब्रेक लागेको छ ।
मंगलबार १२ बजेर ३८ मिनेट जाादा अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेपछि बजारमा सर्किट लागेको छ । सो बेलासम्म ११४.२५ अंकले नेप्से बढेर २३९५ अंकमा पुगेको छ ।
सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेटसम्मका लागि बन्द भएको छ ।
यससँगै अब १ बजेर १८ मिनेट पछि सेयर कारोबार पुनः सुचारू हुने छ ।
यो अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो अवधिमा नेपाल केडिट एण्ड कमर्शियल (एनसीसी)बैंक र माउन्टेन इनर्जी बाहेक बाँकी कम्पनीको सेयर मूल्य बढेको छ । मूल्य बढ्नेमा २० वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
यस्तो छ सर्किट ब्रेकको व्यवस्था
नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म सर्किट ब्रेक लाग्ने छ ।
यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोवार स्थगित गर्ने व्यवस्था रहेको छ ।