पुर्वमन्त्री तथा सांसद हृदेश त्रिपाठीले जनता प्रगतिशिल पार्टी (जेपिपि) गठन गरेका छन् ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर त्रिपाठीले उक्त पार्टीको घोषणा गरेका हुन् ।
तत्कालीन राष्ट्रय जनता पार्टीबाट अलग भएर स्वतन्त्र राजनितिक समुह मार्फत राजनिती गरिआएका त्रिपाठीले आज औपचारीक रुपमा जेपिपि गठन गरेको घोषणा गरेका हुन् ।
पार्टी घोषणा कार्यक्रमको उदघाटन पुर्व सभामुख दमननाथ ढुंगानाले गरेका छन भने पुर्वसचिव रामेश्वर खनाल लगायत नेपाल सरकारका विभिन्न उच्च तहका अवकासप्राप्त कर्मचारीहरु उनको पार्टीमा सहभागी भएका छन् ।
घोषणासभालाई सम्बोधन गर्दै पुर्व सभामुख ढुंगानाले आफु पार्टीको मुल कमिटिमा नबसेर संरक्षकको भुमिकामा रहने बताए ।
उनले नेपालमा रहेका कांग्रेस, कम्युनिष्ट भनाउने पार्टीहरु देशहितकारी नभएको समेत बताए ।
कांग्रेसले मधेशलाई भोट ब्यांक बनाएर त्यसको गुण नतिरेको तथा बहुदलिय समाजवादमा कम्युनिष्टहरु असल नभएकोले नयाँ ढंगको राजनितिका लागी जेपिपिको आवश्यक्ता रहेको बताए ।
पार्टीको घोषणा गर्दै संयोजक हृदेश त्रिपाठीले नेपाली राजनितिलाई नयाँ बाटोमा डोर्याउन र जनताप्रती उत्तरदायी हुन जेपिपिको गठन गरेको बताए ।
उनले कृषक र युवा तथा सिमान्तकृत समाजलाई मुल केन्द्रमा राखी समाजवादी अर्थनिती सहित पार्टी अगाडी बढ्ने बताए ।
पार्टीमा देशका प्रसिद्ध व्यक्तित्व सहित विभिन्न दलमा रहेका सांसद, प्रदेशसभा सदस्य तथा स्थानिय निकायका प्रमुखहरु समेत समाहित हुने बताउंदै त्रिपाठीले निर्वाचन अगाडी पार्टीको विस्तार गर्ने बताए ।
‘प्राबिधिक कारणले अहिले पार्टीमा रहने अन्य उच्च नेताहरुको नाम लिन सकिन्न’, त्रिपाठीले भने– ‘समय आएपछी सबै जानकारी दिन्छौं ।’
नेपाली कांग्रेस, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपा लगायतका विभिन्न पार्टीका करिब १ दर्जन निर्वाचित सांसद जेपिपिको सम्पर्कमा रहेको तर पार्टी प्रवेश गरे संसद सदस्यता जाने भएका कारण उनिहरुले तत्कालै पार्टीमा प्रवेश नगरेको त्रिपाठी श्रोतले जनायो ।