शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आज मङ्गलवारका लागि कारोबार बन्द भएको छ ।
यसअघि बजार खुलेको दुई घण्टा नबित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि फेरि खुलेको बजार ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार नै बन्द भएको हो ।
केही दिनयता घटेको शेयर बजार आज बढेको हो । आज १ सय ३७ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार चार सय १८ विन्दुमा पुगेको छ ।
पछिल्लो समय निरन्तर घटेर २२०० को बिन्दुमा झरेको परिसूचकले मंगलबार एकैदिनमा २४०० बिन्दु पार गरेको छ ।
करिब २ घण्टा कारोबार भएको बजारमा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता धितोपत्र किनबेच भएको हो ।
त्यस्तै, कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।