प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीचसभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक चलाएका छन् ।
मंगलबार दिउँसो २ बजे संसद बैठक सुरु हुनेवित्तिकै एमालेले अवरोध गर्दै नारावाजी गरेका थिए । बैठक सञ्चालनमा सहयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालो आग्रह गरेका थिए ।
तर, आग्रह अस्वीकार गर्दै एमालेका सांसदले अवरोध जारी राखेपछि सभामुखले बैठक अगाडि बढाएका थिए ।
बैठकमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले विभिन्न अध्यादेश पेस गरेका छन् ।
उनले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ र रेल वे सञ्चालन अध्यादेश पेश गरेका छन् ।
यी अध्यादेश पेशपछि सभामुख सापकोटाले बैठक पुस ६ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।
यसअघि मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले संसद अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संसदमा विरोध प्रदर्शन जारी राख्ने जानकारी दिएका थिए ।
एमाले विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।