चितवनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग राखेर चितवन बन्द गराउँदै हिँड्ने एक दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी साधन, व्यवसाय बन्द गराउँदै हिँड्ने नारायणगढबाट १० जना र भण्डाराबाट दुई जना पक्राउ परेका हुन् ।बन्दकर्ताले नारायणगढको पुलचोकमा ट्रकमाथि ढुङ्गा प्रहार गर्दा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्बर पुरी, विप्लव नेतृत्वको नेकपा माओवादीका चितवन इन्चार्ज सन्देश पौडेल, वैद्य माओवादीका धननाथ सापकोटा, बद्री अधिकारी, प्रकाश ढकाल लगायत अन्य नेता कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरूलाई हाल नियन्त्रणमा लिइएको र साँझ छाडिने कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । एमसीसी खारेजी अभियान संयुक्त सङ्घर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ राजनीतिक दलहरूले आज चितवन बन्दको घोषणा गरेका थिए । बन्दले चितवनको जनजीवन प्रभावित बनेको छ । छिटपुट रूपमा सवारीसाधन र पसलहरू खुले पनि अधिकांश व्यावसायिक प्रतिष्ठान, शिक्षण संस्था, कलकारखाना खुल्न सकेका छैनन् । सङ्घर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र सोमबार साँझ मसाल जुलुस समेत निकालेको थियो ।