वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले मंगलबार ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्दै तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरु घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिँचाई, बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छी मन्त्रीमा नियुक्त भएका छन् । समाजवादीकै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।
योसँगै वाग्मतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ ।
यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनेका थिए ।
त्यस्तै, दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्री बनेका थिए ।