धनगढीमा हुने प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष ३ गते देखि हुने क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ धनगढीको सहआयोजनामा हुने प्रतियोगिता पौष ११ गते सम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने भएको हो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा वमन अफ द म्याच २ हजार प्रति म्याच ,वमन अफ द सिरिज २५ हजार, वेस्ट बलर १५ हजार, वेस्ट ब्याट्स वमनलाई १५ हजार दिइने आयोजक मूल कमिटी संयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए ।
सातै प्रदेशबाट प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ ।
समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् । फाप्ला क्रिकेट मैदानमा पुस ३ गते हुने उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । सोही दिन अर्को खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।