नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको छ ।
विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । यो सँगै वल्डलिंकको इन्टरनेट स्पिड अब कम्तीमा पनि १५० एमबिपीएस गतिको हुने उनले बताए ।
वल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयाशरत रहेको उल्लेख गर्दै वल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताए ।
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० अर्थात् मासिक एक हजार २०० मा १५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । एक सय ५० एमबिपीएससहित २२५ र ३०० एमबिपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवालले बताए ।