कांग्रेस सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले पार्टी रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुने बताएका छन् ।
सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका कोइरालाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिँदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुने बताएका छन् ।
सभापतिमा निर्वाचित प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिएका उनले देउवाको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
उनले पार्टीको १४औँ महाधिवेशनको मत परिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल शुरु हुने र कांग्रेसलाई एकढिक्का बनाए मात्र एक नम्वरको पार्टी बनाउन सक्ने बताएका छन् । त्यसका लागि फेरि हिमाल, पहाड र तराई–मधेश आउने घर दैलोमा आउने उनले प्रतिवद्धता जनाएका छन् ।
उनले सभापतिमा पराजित भए पनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।’
आफूलगायत आफ्नो टिम निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने उनले विश्वास दिलाएका छन् ।