नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कार्बाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कार्बाहीबारे देउवाको ध्यानाकर्षण गराएका हुन् ।
त्यसलगत्तै प्रधानमन्त्री देउवाले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग खेलाडीलाई गरिएको कार्वाहीबारे टेलिफोन मार्फत जानकारी लिएको र मिलाएर अघि बढ्न निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ ।
देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘क्यानमा के गरेको हो, प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाएर अघि बढ्नुस है ।’
नेपाल क्रिकेट संघ (क्यान) को क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गर्दै पदमुक्त गर्नुका साथै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको थियो ।
साथै, अनुशासन उल्लंघन आरोपमा मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।
जसको खेलाडी, समर्थन र क्यानकै केही बोर्ड सदस्यले विरोध जनाउँदै आएका छन् । क्रिकेट खेलाडीहरुमाथिको कारवाही फिर्ता लिन चौतर्फी दवाव छ ।
सो क्रममा प्रचण्डले नेपाली काङ्ग्रेसको सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाई तथा शुभकामना दिए ।
साथै, सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा प्रचण्ड र देउवाबीच छलफल भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।