नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई ओलीले सल्लाहकारमा राखेका थिए ।
तर, आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको र यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत रावलले बताएका छन् ।
पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।