प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक आइतबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको छ ।
बैठकमा एमसीसी संसदमा पेस गर्नेबारे छलफल हुने बताइएको छ । सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसीसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ ।
बैठकमा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग छलफल गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।