घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
लिगको पाँचौँ चरणअन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । मनाङले नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा मनाङले थप दुई गोल गर्न सफल भयो ।
मनाङको जितमा खेलको दशौँ मिनेटमा कप्तान अञ्जन विष्टले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दिनेश राजवंशीले पोस्टतर्फ गरेको लामो प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले डिबक्स भित्रबाट बचाउ गर्ने क्रममा बाउन्स भएको बललाई उपयोग गर्दै खाली पोस्टमा विष्टले पेनाल्टी क्षेत्रबाट हानेको बलले जाली चुमेको थियो ।
पुलिसका सुमन लामाले खेलको ३५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका निरकुमार राईमाथि फल गरेपछि खेलका मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी हान्न दिएका थिए । लामाले पेनाल्टी उपयोग गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।
खेलको ७३औँ मिनेटमा मनाङका विष्टले टोलीका लागि दोस्रो गोल गरे । ८३औँ मिनेटमा मनाङका निशान लिम्बूले गोल गदै टोलीलाई ३–१ को अवस्थामा पु¥याए ।
जारी लिगअन्तर्गत काठमाडौंबाहिर भएको यो पहिलो खेल हो । मनाङले पोखरालाई आफ्नो होम ग्राउन्डको रूपमा प्रयोग गर्ने निर्णयसँगै आधिकारिक निकायबाट त्यसको अनुमति पाएको थियो ।
मनाङकै आग्रहमा एन्फाले जारी लिगका तीन खेल पोखरामा सञ्चालन गर्ने निर्णय गरेको हो । होम एन्ड अवे अवधारणालाई परीक्षण गर्न एवं लिगलाई देशव्यापी बनाउन एन्फाले अभ्यासका रूपमा पोखरामा खेल आयोजना गर्न लागेको हो ।
शनिबार पुलिससँग खेलेको मनाङले जारी लिगको सातौँ चरणअन्तर्गत १७ पुसमा च्यासल युथ क्लब र आठौँ चरणअन्तर्गत २४ पुसमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग गरी मनाङले तीन खेल पोखरामा खेल्नेछ ।मनाङको आग्रहमा ती तीन क्लब पोखरामा खेल्न तयार भएका हुन् ।
पोखरामा हुने तीन खेलको सम्पूर्ण खर्च मनाङले व्यहोर्ने भएको छ । प्रतिस्पर्धी टोलीसँगै रेफ्री, अफिसियल, खेल व्यवस्थापन, यातायात, आवासलगायत सबै खर्च मनाङले व्यहोर्नेछ । दर्शकका लागि एक सय र तीन सयको टिकटको व्यवस्था गरिएको छ । टिकट बिक्रीबाट आउने सम्पूर्ण रकम भने मनाङले लिनेछ ।