जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको विभत्स हत्यासंग सम्बन्धित अडियो रेकर्ड प्रहरीले फेला पारेको छ ।
शव फेलापछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दुई युवाबीचको सम्वादसहितको फोन अडियो रेकर्ड फेला पारेको हो ।
प्रहरीले मृतकका परिवारजनबाट अडियो रेकर्ड फेला पारेको हो । सो अडियो रेकर्डबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
जुन, सम्वाद युवकको हत्यापछि फोनमा गरिएको हो । अडियो रेकर्डमा आफूलाई मनोज नामले चिनाएका युवकले अर्का व्यक्तिसंग घटनाको बारेमा कुरा गरेका छन् । उनले घाँटी र शरीर अलग पारेको भन्दै भनेका छन्, ‘दाई उसको घाँटी अलग छ । शरीर अलग छ । एक÷दुई दिनभित्र थाहा पाइहाल्नु हुन्छ । म यहाँ कहाँ पुगि सके, कहाँ पुगिसकेँ ।’
उनले आफू रुपैडियाबाट फोन गरेको र बेंगलोरका लागि हिडेका फोनमा बताएका छन् ।
अडियोः सुदूरपश्चिम टिभी
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार दासको हत्या जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा करिब १ किलोमिटरभित्र घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको छ ।
उनले भने, ‘रुखमा बाँधिएर नग्न बनाइएको छ । दुईवटै हात समेत पछाडि पारेर बाँधिएको छ । पछि घाँटी रेटेर टाउको छिनालिएको देखिन्छ ।’
सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली अनुसन्धानमा जुटेको छ ।
कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर फिर्ता भएको छ ।
अडियो रेकर्डसहित केही क्लु फेला परेको र शंकास्पद व्यक्ति उप्पर अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजुसहित रहेका थिए ।