प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
संघीय संसद्को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयमा छलफल भएको हो ।
बैठकमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको उनको भनाइ छ ।संसद् अवरुद्ध हुँदा संसद्को काम र जनताको अपेक्षा प्रभावित भएको विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ ।
असहमति प्रकट गर्ने थलो संसद् भए पनि सशक्त प्रतिपक्षी दलले त्यसलाई बन्धक बनाउनु नहुनेमा नेताहरुले जोड दिए । संसद् अवरुद्ध हुँदा समग्र संसदीय व्यवस्था कमजोर हुने भन्दै बैठकले यसको निकास खोज्न प्रतिपक्षी दल एमालेलाई अनुरोध गरेको छ ।