कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर विभत्स हत्या गरिएको घटनामा प्रहरीले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको छ।
घटनापछि लुकेर बसेका एकजनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।
अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनापछि भएको फोन संवादको अडियो प्राप्त गरेको प्रहरीले त्यही अडियोका आधारमा अनुसन्धान अगाडि बढाएको छ।
जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको धारिलो हतियारले घाँटी छिनालेर हत्या भएको हो। स्थानीय अमरावती सामुदायिक वनको जंगलमा शरीर कपडाले रुखमा बाँधेको र घाँटी छिनालेर टाउको अलग पारिएको अवस्थामा शनिबार दिउँसो दासको शव फेला परेको थियो।
शव उठाउन अस्वीकार
हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीय वासिन्दाले शव उठाउन अस्वीकार गरेका छन् ।
दासको हत्यामा संलग्नहरुको पहिचान भइसकेको तर प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाउँदै घटनास्थल अमरावती सामुदायिक वनमा भेला भएका स्थानीयले शव उठाउन नदिएका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले परीक्षणका लागि अस्पतालसम्म लैजान दिन आग्रह गरेपनि उनीहरुले हत्यामा संलग्नलई पक्राउ गरेपछि मात्र शव उठाउन दिने अडान राखेका छन् ।
स्थानीयले अवरोध सिर्जना गर्दा आइतबार मृतकको शव घटनास्थलबाट उठाउन नसकिएको डीएसपी जोशीले बताए । घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।