विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोध्नबाहेक अन्य नेतालाई कारवाही नभएको जनाएको छ ।
विभिन्न मिडियामा संयोजक पाण्डेलाई स्पष्टीकरण सोधिएको र रञ्जु दर्शनालगायतका अन्य नेतालाई कारबाही गरिएको समाचार आएपछि उक्त पार्टीले त्यसको खण्डन गरेको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो । त्यसबाहेक, विभिन्न मिडियामा आएजस्तो अन्य कुनै पनि नेतालाई स्पष्टीकरण सोध्ने या कारबाही गर्ने कार्य भएको छैन । केही नेताहरूको आन्तरिक रूपमा भूमिका परिवर्तन गर्न लागिएको हो । त्यो कारबाही होइन ।
पार्टीको बागमती प्रदेशका सह–संयोजकले राजीनामा दिएको तर बागमती प्रदेश समिति भङ्ग भएको नभएको बताइएको छ ।
साथै, निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण नसोधेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले केही विषयमा प्रतिक्रिया मागेको र त्यो पार्टीले बुझाइसकेको विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार कुनै पनि पार्टीको केन्द्रीय समितिको निर्णय विरुद्ध उजुरी दिनु परेमा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित ३० दिनभित्र निर्वाचन आयोगमा उजुरी गर्नु पर्ने हुन्छ ।
पार्टी संयोजक पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानुनी औचित्य नरहेको र सोही कुरा आयोगले मागेको प्रतिक्रियामा उल्लेख गरिएको बताइएको छ ।