प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताएका छन् ।
त्रिभूवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गरे । ‘शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ,’ भनले भने, ‘सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ ।’
प्रधानमन्त्रीले दीक्षित विद्यार्थीहरुलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न प्रेरित गरे । उनले दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गरे ।