नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली धुन्धकारी व्यक्ति भएको टिप्पणी गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन गरेको गरेको दिनलाई प्रतिगमन दिनको रुपमा लिँदै समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालले सो कुरा बताएका हुन् ।
ओली प्रधानमन्त्री पदका लागि पार्टी र कुर्सी भाच्ने धुन्धकारी व्यक्ति भएको नेपालले टिप्पणी गरे ।
उनले आफू ओलीबाट हत्तुहैरान भएर बसेको मान्छे रहेको जनाए ।
ओलीलाई गफामी नम्बर १ को संज्ञा दिँदै नेपालले भने, ‘ओलीलाई गफमा कसैले सक्दैन । गिनिज बुकमा नाम लेखिदिए हुन्छ । गफामी नम्बर १ ।’
ओली प्रतिगमनकारी र आफूहरु अग्रगामी रहेको उनले बताए ।
ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिन्न नसकेको नेपालले बताए ।
उनले भने, ‘प्रचण्डजी सोझो हुनुभयो । कुरा उठाउनुभएन । अब मेरो पालो आयो भन्नुपथ्र्यो । केपी ओलीजस्तो च्याखुरो मान्छेलाई चिन्न सक्नुभएन । ओलीले प्रचण्डसँग भएको आलोपालो बैठकको अध्यक्षता गर्ने र आधा आधार कार्यकाल प्रधानमन्त्री हुने सहमति पालना गरेनन् ।’
उनले एमसीसीको बारेमा छलफल गरिरहेको र जनभावनाअनुसार निर्णय गर्ने बताए ।
‘एमसीसीसँग जोडिएकाहरुले गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्’ उनले भने, यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरुसँग असर पर्ने नहोस् ।’
एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको भन्दै उनले देश हितको रक्षा गरेर अगाडि बढ्ने बताए ।