नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अल्पमतमा परेपछि गत पुस ५ गते संसद विघटन गरेको आरोप लगाएका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटनको दिनलाई प्रतिगमन दिनको रुपमा लिँदै नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने कार्य अब कसैले नगरोस् भन्नेतर्फ सतर्क हुनुपर्ने बताए । आजको दिनले प्रतिगमनविरुद्ध लड्न प्रेरित गर्ने उनको भनाइ छ ।
प्रचण्डले ओली ओली अझै प्रतिगमनकै बाटोमा रहेको आरोप लगाए । निर्वाचन आयोगले मान्यता दिइसकेको र अदालतमा विचाराधिन रहेको विषयमा एमालेले संसद अवरोध गरिरहेको उनको आरोप थियो ।
ओलीले अराजनीतिक र अलोकतान्त्रिक चरित्र देखाइरहेको उनले बताए ।
निर्वाचन आयोगमा मिलाइएको सेटिङका कारण ओली बचेको उनले बताए । प्रचण्डले भने, ‘निर्वाचन आयोगले ऐन कानूनअनुसार काम गरेको भए ओली पार्टी र चुनाव चिह्न विहीन हुने थिए ।ठूलो डिजाइन र षड्यन्त्रअनुसार ओलीलाई बचाइएको हो । ओलीले संवैधानिक परिषद्मार्फत असंवैधानिक रुपमा आफ्ना मान्छे राखे । निर्वाचन आयोगले आठौं आश्चर्यजस्तो काम गर्यो । तर, त्यसअघि नै ओलीले हार मानेर नयाँ पार्टी दर्ता गरिसकेका थिए ।’
निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्ने उनको दाबी छ ।
उनले सत्तारुढ गठबन्धन नटुट्ने बरु थप बलियो बन्दै निर्वाचनसम्म जाने दाबी गरे ।
प्रचण्डले भने, ‘ओलीजी प्रधानमन्त्रीन्यूलाई गठबन्धन टुटाऊ, एमसीसीमा समर्थन गर्छु भनेका रहेछन् । तर, त्यसलाई प्रधानमन्त्रीज्यूले अस्वीकार गर्नुभएको छ, धन्यवाद ।’