आफूलाई सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनु दुराशयको पराकाष्ठा रहेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताएका छन् ।
अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार पत्र लेख्दै संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जनाएका थिए ।
त्यसपछि एक विज्ञप्ति निकाल्दै पाण्डले पार्टीभित्रको मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु दुराशयको पराकाष्ठा रहेको र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्ने बताएका छन् ।
साथै, अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न उनले अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधान विरोधी, व्यवस्था विरोधी बाटोमा हिँड्न पुगेका पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज अबैधरूपमा आफ्नो समूहको बैठक बोलाई मलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्ने समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले आफ्नो पार्टीप्रतिको आस्थालाई कसैले खोस्न र कारबाही गर्न नसक्ने बताएका छन् । पार्टी निर्माण सत्ताको खेल भन्दा धेरै जीवन र जगतलाई अझ उन्नत बनाउने अभियान भएको र यो अभियानमा अझ प्रतिबद्ध रहेको उनले बताएका छन् ।
त्यसका लागि मंगलबार बिहानै विवेकशील साझा पार्टीमा हालका सम्पूर्ण केन्द्रीय समिति सदस्य समेत सहभागी २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा भएको उनले जानकारी दिएका छन् । यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम रहेको उनले स्पष्ट पारेका छन् ।
मिश्रले उक्त अभियानलाई समानान्तर समिति घोषणा गरेको पत्रका उल्लेख गरेका थिए ।
कानुनी रूपमा मुद्दा निर्वाचन आयोगले हेरिरहेको र आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्ने र त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिने उनले विश्वास व्यक्त गरेका छन् ।
पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्रमाथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै अधिकार नरहेको उनले बताएका छन् ।
यसअघि मिश्रले उनलाई पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित सामाग्री प्रयोग नगर्न र गरेमा कारवाही गरिने चेतावनी दिएका थिए ।
मिश्रलाई काउन्टर दिँदै पाण्डले भनेका छन्, ‘हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ ।’