नेपाललाई राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस) ले हिन्दु राष्ट्रको रुपमा देख्न चाहेको संघका प्रचारक सुनिल अम्बेडकरले बताएका छन् ।
सनातन धर्मको संरक्षक रहेको नेपाल पहिलैदेखि हिन्दु आस्थाको केन्द्र भएकोले यसलाई हिन्दु राष्ट्रको रुपमा विकसित गर्नुपर्ने प्रचारक अम्बेडकरले बताए ।
‘नेपाल बहुसंख्यक हिन्दुहरुको देश हो,’– अम्बेडकरले भने ‘यो सनातनी राष्ट्रलाई हिन्दु राष्ट्र बनाउनु पर्छ । तर भारत वा संघले त्यसका लागि दवाव दिँदैन, यो नेपालको आन्तरिक राजनीतिको विषय हो ।’
नेपाल संवाद केन्द्रले आज काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अम्बेडकरले हिन्दु धर्म हरेक व्यक्तिलाई एकरुपताको संदेश दिने संस्कृतिपुर्ण रहेकोले यसलाई विश्वले सम्मान गरेको बताए ।
इश्लामिक आतंकवाद र क्रिश्चियन धर्मान्तरण जस्ता कट्टरपन्थहरुले हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै अम्बेडकरले धर्मको रक्षा गर्न सबै हिन्दु एक भएर लाग्नुपर्ने बताए ।
अम्बेडकरले आरएसएसले असल मानिस बनेर देश र धर्मको रक्षा गर्न उत्प्रेरणा प्रदान गर्ने विश्वकै ठूलो स्वयमसेवी संगठन रहेको समेत बताए ।