विवेकशील साझा पार्टीले यही पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।
पार्टीको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।
सो यात्रा कञ्चनपुरबाट पुष २७ गते सुरु गरिनेछ र सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य हुनेछ ।
नागरिकहरूका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि विचारभन्दा माथि देश नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुने उक्त पार्टीले जनाएको छ ।
अध्यक्ष रवीन्द्र मिश्रले भने, ‘देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा नै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ । त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्यो । सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो ।’
यो विशेष यात्रामा साथ दिन विवेकशील साझा पार्टीले आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरूलाई अनुरोध गरेको छ ।