नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकथरी मानिसहरु अहिलेको व्यवस्था नै उल्ट्याउन लागिरहेको बताएका छन् ।
पुस ११ देखि हुन लागेको राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेका प्रचण्डले न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा बिहीबार यस्तो बताएका हुन् ।
‘एकथरी मानिसहरु सिस्टमलाई नै उल्ट्याउन लागेका छन् । तर हामी संविधानको रक्षामा लागेर राष्ट्रिय पुँजी बनाउँदैछौँ’, उनले भने, ‘योजना र विकासका कुरा पनि भए तर नेपाल केबल विदेशीको बजार मात्रै भयो ।’
प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अनावश्यक दबाब नदिने र एमसीसीकै कारण गठबन्धन नटुट्ने दाबीसमेत गरे ।
प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको प्रचण्डले बताए । ‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन ।’
एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताए ।
जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने भन्दै प्रचण्डले विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताए ।
प्रचण्डले सेयरबजारबारे आफूल नेपालको सेयर बजार सिद्धिनु पर्यो नभनेको र अहिले भर्खरै कसैलाई घाटा पार्न खोजेको नखोजेको स्पष्टीकारण दिएका छन् ।
उनले जसको नीति उसको नेतृत्व भयो भने पार्टी र राजनीतिले गति लिने बताएका छन् ।
लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको प्रचण्डले गुनासो गरे ।