सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद भुक्तान गरिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बिहीबार थुनामुक्त गर्नु नपर्ने कारण माग गरेको हो ।
शोभराजलाई थुनामुक्त नगर्नु पर्ने कुनै कारण भए महान्यायाधीवक्तलाको कार्यालयमार्फत् तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई भनेको छ । शोभराजले आफूले सजाय भोगिसकेको भन्दै थुनामुक्त गर्न मागसहित बुधबार बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमका आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने आधार र कारण भए सोसमेत साथै राखी यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नु भनी यो आदेशको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुको नाउँमा म्याद सूचना पठाई सोको जानकारी महान्यायाधिवक्ताको कार्यालायमा दिई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमाअनुसार पेश गर्नु ।’
कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ। नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित यसअघि पनि पटक-पटक निवेदन दिएका थिए । तर अदालतले कैद सजाय मिनाहा गर्न माग गर्दै दिएको रिट खारेज गर्दै आएको छ ।
विकिनी किलरका रुपमा चर्चित शोभराज २ असोज २०६० मा काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेको अभियोग थियो ।
बिकिनी किलर र सिरीअल किलर जस्ता उपनामले पनि चिनिएका शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ।