धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । विहीवार लिग चरणकको सम्पन्न खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
समूह ए बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह बी बाट नेपाल एपिएफ क्लब विजेता र सुदूरपश्चिम उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका छन् ।
बिहीबार अन्तिम खेलमा एपिएफले गण्डकी प्रदेशलाई १ सय १७ रनले पराजित गर्दै अपराजित यात्राका साथ सेमिफाइनलमा स्थान बनायो ।
फाल्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । एपिएफकी ममता चौधरीले ३० बलमा ६ चौका सहित सर्वाधिक ४३ रन बनाइन् । सरिता मगर र रोमा थापाले २६–२६ रन बनाए। ज्योती पाण्डेयले २४, राजमती ऐरी ८ र करुणा भण्डारीले २ रन जोडिन् । गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले एक विकेट लिईन्।
जितको लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ३३ रन मात्रै बनायो । गण्डकीका लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा १३ रन अतिरिक्त प्राप्त गरेका थिए । एपिएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २-२ विकेट लिए । सोनु खड्का, सुमन बिष्ट र सिता राना मगरको नाममा १–१ विकेट रह्यो । एपिएफले खेलमा नौं बलर प्रयोग गरेको थियो ।
शनिबार सेमिफाइनल र आईतबार फाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ए को विजेता प्रदेश १ र समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा एपिएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने छन् । प्लेयर अफ द सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याटरले समान १५ हजार प्राप्त गर्नेछन् ।
समूह ए मा प्रदेश एक ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । लुम्बिनी प्रदेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । बागमती प्रदेश ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहेर बाहिरियो । कर्णाली प्रदेश ३ खेलमा जित विहीन हुँदै बाहिरियो ।
समूह बी मा एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । सुदूर ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । प्रदेश २ ले ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहेर बाहिरियो । गण्डकी ३ खेलमा जित विहीन हुँदै बाहिरियो ।