नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गत मतदान सकिएको छ। बिहीबार बिहानदेखि सुरु भएको मतदान बेलुकी ८ बजेतिर सकिएको हो।
बिहान ९:४० बजेदेखि सुरु भएको मतदानमा १९३८ मध्ये १८८१ मत खसेको कांग्रेसको प्रदेश २ निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए।
मतदान सकिएपछि मतदानस्थलको मुचुल्का तयार पारी मतपेटीकाहरु संकलन गरिएको र राति ११ बजेदेखि नै पदाधिकारीको मतगणना सुरु गरिने यादवको भनाइ छ।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन (सभापति शेरबहादुर देउवा) पक्ष र शेखर कोइराला– विमिलेन्द्र निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।
कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए।