कुख्यात सिरियल किलर चाल्र्स शोभराजको रिहाईको बारेमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ नोटिस जारी गरेको छ ।
सर्वोच्च अदालतले १८ बर्ष जेलमा बिताएका चाल्र्स शोभराजलाई किन रिहाई नगर्ने भनेर सरकारलाई सोधेको छ । हत्या र नक्कली राहदानी मुद्धामा चाल्र्स शोभराज नेपाल कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् । उनीमाथि आफ्नी प्रेमिका सहित धेरैको हत्या गरेको आरोप लगाइएको थियो ।
त्यसपछि उनलाई हत्याको अभियोगमा २० बर्ष र नक्कली राहदानीका लागि एक बर्ष अर्थात् कुल २१ बर्षको जेल सजाय सुनाइएको थियो । उनलाई हाल काठमाडौँ कारागारमा राखिएको छ । तर, एउटा मुद्धामा भने सजाय सुनाउन बाँकी नै छ ।
को हुन् चाल्र्स शोभराज ?
फ्रान्सेली नागरिक चाल्र्स शोभराजका बुवा भारतीय र आमा भियतनामी मूलकी थिइन् । धेरैले उनलाई "बिकिनी किलर" पनि भन्ने गर्छन् । एक पत्रिकाले उनको तस्बिर प्रकाशित गरेपछि सेप्टेम्बर २००३ मा क्यासिनो अगाडि उनी पक्राउ परेका थिए ।शोभराजको उमेर अहिले ७७ बर्ष पुगेको छ । त्यसैले उनको तर्फबाट रिहाइका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ ।
शकुन्तला थापा र सरोज घिमिरे शोभराजको रिहाईका लागि अपिलका साथै लबिङ गरिरहेका छन् । अधिकारीहरुका अनुसार यस निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधील अनिल कुमार सिन्हाले सरकारलाई ३ दिनभित्र जवाफ पेश गर्न भनेको छ ।