बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् ।
ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन् ।
समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो ।
तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए । तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए । फेरिको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।
बंगालको खाडीमा मिसिने धेरै नदीहरू बंगलादेश भएर जान्छन् । धेरै नदीहरू भएकाले बंगलादेशमा फेरि यातायातको प्रमुख माध्यम हो । सुरक्षा मापदण्डको पालनामा कडाइ नहुँदा दुर्घटना हुने गरेका छन् ।