नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा मसाल (सम्पर्क केन्द्र)बीचको एकताले देशमा बलियो सन्देश दिएको बताएका छन् ।
नेकपा मसालबाट विद्रोह गरेर माओवादी केन्द्रसँग एकता हुन आएको समूहलाई शुक्रबार स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘एकीकरण प्रक्रियामा सहभागी मसालसँग सम्बन्धित कमरेडलाई विशेष बधाई, स्वागत र धन्यवाद भन्न चाहन्छु’, प्रचण्डले भने, ‘यो कुनै कार्यनीति र कूटनीतिक खालको एकता होइन । विचारधारात्मक एकता हो । यो दिगो जानेछ र यसले देशमा बलियो सन्देश दिनेछ ।’
प्रचण्डले आफूहरुले ठूलो सपना देखेर नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गरेको सम्झनासमेत गरे । तर, नेतृत्वको एउटा पक्षले त्यसलाई सत्ताको भर्याङ मात्र बनाउन खोजेपछि अहिलेको बिन्दुमा आइपुगेको बताए ।
‘देशमा नयाँ युगको प्रारम्भ गर्न सकियोस् र समाजवादको यात्रामा डोहोर्याउन सकियोस भनेर एमालेसँग एकता गरेका थियौँ’, प्रचण्डले भने, ‘तर, एउटा नेतृत्वले सत्तामा पुग्ने भरङ्मात्र बनाउँदा हामी नयाँ सिराबाट एकता गर्नुपर्ने बिन्दुमा आइपुगेका छौँ ।’
गत वर्ष पुस ५ गते प्रतिगमन र प्रतिक्रान्ति भएको भन्दै जनताको अगाडि त्यो नटिकेको सम्झना प्रचण्डले गरे । जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्टिन नदिन फेरि ठूलो क्रान्तिकारी लडाइँ लड्न तयार भएको दाबीसमेत प्रचण्डले गरे ।
फेरि पनि प्रतिक्रान्तिको खतरा नटरेको भन्दै प्रचण्डले अहिले पनि सचेत हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले आफूहरुले राष्ट्रिय झण्डाको एकतालाई उचो राख्न चाहेको उल्लेख गर्दै केही समयमा त्यो कुरा प्रष्ट हुने उल्लेख गरे । ‘हामी राष्ट्रिय झण्डाको एकतालाई उचो राख्न चाहन्छौँ, केही समयपछि नै बढो स्पष्ट हुनेछ । को विजयी हुने हो ? को होइन भन्नेकुरा केही समयपछि थाहा हुनेछ’, प्रचण्डले भने, ‘मैले प्रतिनिधिसभामा कम्युनिष्ट क्रान्तिकारीलाई हल्का रुपमा नहेरियोस् भनेको थिएँ । आगोसँग खेल्ने दुष्साहस नगर्नुहोस् भनेको थिएँ । बालुवाटारबाट बालकोट भयो, ६ वटा प्रदेशबाट मुख्यमन्त्री चट भयो । आउने चुनावमा देखिने छ, कसको हालत के भयो ? कसको हालत के हुनेछ, जनताले देखाउनेछन् ।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।