सगरमाथा, लालीगुराँस, पाटेबाघ र कुबेरको चित्रले सजिएका ५०० रुपियाँका नयाँ नोट शुक्रबारदेखि नेपाली बजारमा आएका छन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबारदेखि ५०० रुपियाँका नयाँ नोट प्रचलनमा ल्याएको हो ।
राष्ट्र बैङ्कअन्तर्गत मुद्रा व्यवस्थापन विभागका अनुसार साबिककै आकारमा तथा रङमा, सङ्केत नं. छ/३८०००००१ देखि झ/४२९९९९९९ सम्मका ५०० रुपियाँ दरका नयाँ नोट चलनचल्तीमा आएका हुन् ।
नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा र वि.सं.२०७७ लेखिएको छ।
३.५ मिमि चौडा भएको रङ परिवर्तन हुने ९नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने० सुरक्षण धागो रहेको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको छ।