कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव एक साता बित्दा पनि शव उठेको छैन । पोस्टमार्टमपछि उनको शव अस्पतालमै छ ।
हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन नमानेका हुन् ।अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव तीन दिनपछि घटनास्थलबाट उठाइएको थियो ।
दोषी पक्राउ नपरेसम्म बनबाट शव उठाउन नदिने भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् । पीडित परिवार, स्थानीय, प्रहरी प्रशासन र विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनीधिबीचको छलफलपछि तीन दिनपछि उठाइएको शव टीकापुर अस्पतालमा पोस्टमार्टमपछि अस्पतालमै राखिएको छ ।
मृतक अर्जुनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दै शव नउठाएर विरोध प्रदर्शन र राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
गत शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । शनिवार उनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेको थियो । जंगलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति समेत बनाएको छ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनामा संलग्नहरूको पहिचान भइसकेका र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न आफूहरू लागिपरेको बताए । घटनामा संलग्न आरोपित एक जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको उनको भनाई छ ।