प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्ने बताएका हुन् ।
‘म सबैको सभापति हुँ । सबैको भावनाको कदर गर्दै पार्टी अगाडि बढाउँछु । सबैको साथका पाउने विश्वास व्यक्त गर्दछु’, उनले भने ।
सभापति देउवाले काङ्ग्रेसमा जस्तो समावेशी प्रतिनिधित्व पनि अरु पार्टीमा नभएको बताए । आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस नै ठूलो पार्टी बन्ने सभापति देउवाले दावी गरे ।
देउवा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका थिए ।