विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
एपीएफले प्रदेश १ लाई ७ विकेटल पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो । एपीएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन र ममता चौधरीले १७ रन बनाइन् ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् ।
यसअघि एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै ६७ रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन, अप्सरी वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् ।
एपीएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिइन् ।
प्रतियोगिताको च्याम्पियन बन्दै विभागीय टीम एपीएफ क्लबले ५ लाख प्राप्त गरेको छ भने प्रदेश १ ले ३ लाखमै चित्त बुझाउनुपरेको छ ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा प्रतियोगिता पुस ३ गते देखि सुरु भएको थियो ।