नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशनको उद्घाटन भएको छ ।
अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर ८औं महाधिवेशनको उद्घाटन गरे । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीका अवसरमा महाधिवेशनको उद्घाटन गरिएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको तस्विरमा माल्यापर्ण गरे ।
अहिले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन समारोह जारी छ ।
उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको छ ।
प्रज्ञा भवनको हल खचाखच रहेको छ भने परिसरमा डिस्प्लेमार्फत प्रत्यक्षरुपमा हेर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थलमा जनयुद्धको स्मरण गर्ने तस्विर लगायतका सामग्री प्रदर्शन गरिएको छ ।
यस्तै कलाकारले माओवादीको आठौँ महाविधेशनका सन्दर्भमा तयार पारिएको गीतसमेत प्रस्तुत गरेका छन् ।
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नारा तय गरेको छ ।
यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा परिवर्तन गरेको हो । महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ ।