सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपराह्न पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।उक्त घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको हो । घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको प्रजिअ शाहीले बताए । घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा तत्कालै उपचारका लागि काठमाडौँ पठाउन नसकेपछि अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।