नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्ट्याचु ८औं महाधिवेशनस्थलबाट हटाइएको छ ।
महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीको मूल ढोका अगाडि प्रचण्डको स्ट्याचु राखिएको थियो । तर, विरोधपछि उक्त प्रचण्डको स्ट्याचु हटाइएको हो ।
नेतृत्वलाई थाहै नदिई चाकडी गर्ने उदेश्यले उक्त स्ट्याचु राखिएको भन्दै माओवादी नेताहरुले नै असन्तुष्टि जनाएका छन् ।
माओवादी केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किरातीले प्रचण्डको स्ट्याचु नेतृत्वलाई थाहै नदिई राखिएको र त्यो चाकडी भएको बताएका छन् । उनले प्रचण्डको स्ट्याचु हटाइसकिएको बताए ।
उनले लेखेका छन्, ‘नेतृत्वलाई थाहै नदिई गरिएको चाकडी हटाई सकिएको सबैमा जानकारी । चाकडी प्रवृति–मूर्दावाद !’
प्रदेश १ का अर्थमन्त्री समेत रहेका माओवादी नेता ईन्द्रबहादुर आङ्बोले नेताले स्ट्याचु राख्ने माओवादी संस्कृति नरहेकोर अध्यक्ष प्रचण्डको चाहना पनि नभएको बताएका छन् ।