नेकपा(माओवादी केन्द्र)ले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ ।
अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी छन् ।
अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो । सुरुमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर पुगेको छ ।
स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।
बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गर्न लागेको राजनीतिक प्रतिवेदनमा ‘विषय प्रवेश’को पहिलो बुँदाबाट सुरु गरिएको छ ।
त्यस्तै, दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ समेटिएको छ । त्यसमा ‘अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड’ उल्लेख छ । यस्तै ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा’ गरिएको छ । राजनीतिक प्रतिवेदनको तेस्रो बुँदामा ‘विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य’ समावेश गरिएको छ । चौथो बुँदामा ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ बारे विस्तृत चर्चा गरिएको छ ।
त्यसैगरीे पाँचौँ बुँदामा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीतिबारे’ समावेश गरिएको छ । छैठौँ बुँदामा ‘समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु’ बारे चर्चा गर्ने प्रयास गरिएको छ ।
सातौँ बुँदामा ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा’ शीर्षक दिएर पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रष्ट पार्ने प्रयास गरिएको माओवादीका नेताहरुले जानकारी दिएका छन् ।
अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउन अझै पनि निरङ्कुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन् । यस्तै उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको बारेमा प्रष्ट्याउने प्रयास गरेका छन् ।
यस्तै, नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ ।
सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ । समूह विभाजनका लागि पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालको भनाइ छ ।
समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालयमा रहने गरी व्यवस्थापन गरिएको छ । अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।