नेकपा (माओवादी केन्द्र)ले महाधिवेशनको बन्दसत्रमा नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका छन् । प्रज्ञा प्रतिष्ठानको जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा नेता गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका हुन् ।
विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराए । पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ ।
यसअघि अध्यक्ष प्रचण्डले बन्दसत्रमा विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि छलफलका लागि २८ वटा समूह बनाइएको छ ।
अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
विधान प्रस्ताव पारित भएलगत्तै अध्यक्ष ‘प्रचण्डले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।
माओवादीका नेता नारायणकाजी श्रेष्ठका अनुसार बन्दसत्रमा एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।
माओवादीले बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी छन् ।
जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।